बाढीले क्षति पुर्‍याएको विद्युत् सेवा वैकल्पिक लाइनबाट जोडिँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने कार्य तीव्र पारिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटको खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको छ।

नुवाकोटका अन्य प्रभावित क्षेत्रमा समेत विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सुचारु गर्न सकिने सम्भावना देखिएको प्राधिकरणले जनाएको छ।

सोहीअनुसार चपली-देवीघाट ६६ केभी लाइन र बालाजु-त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गर्न प्राविधिक टोलीले फिल्डमा आवश्यक तयारी तथा काम तीव्र पारेको छ।

नेपाल विद्युत् प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक उपाय प्रयोग गर्दै बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने प्रयास जारी रहेको जनाएको छ