हेलिकप्टरमार्फत उद्धारमा जुट्यो वायुसेवा संघ, सरकारले तोकेको भाडामै टिकट बिक्री

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण पुगेको जनधनको क्षतिप्रति वायुसेवा संचालक संघ, नेपालले गहिरो दुःख व्यक्त गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

विपद्को यस घडीमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन संघमा आबद्ध वायुसेवा कम्पनीका हेलिकप्टरहरू निरन्तर लागिपरे जनाएको छ । । हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा खोज तथा उद्धार गर्नुका साथै घाइतेहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण भइरहेको छ । साथै, अत्यावश्यक स्वास्थ्य सामग्री, राहत सामग्री र सुरक्षाकर्मीहरूलाई पनि प्रभावित क्षेत्रमा पुर्‍याउने काम जारी छ।

यसैबीच, यात्रुको चापलाई ध्यानमा राख्दै संघले हवाई भाडाबारे स्पष्ट पारेको छ । विषम परिस्थितिका कारण केही क्षेत्रमा यात्रुको चाप बढ्दा सस्तो दरका टिकट सकिए पनि वायुसेवा कम्पनीहरूले मानवीय तथा सामाजिक उत्तरदायित्व वहन गर्दै सरकारले तोकेको वा साविककै दरमा टिकट बिक्री गरिरहेको संघले जनाएको छ ।