नाडाले रसुवा बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  नाडाले रसुवा बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढीपीडितको तत्काल राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

नाडाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

साथै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नाडाले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै काँधमा काँध मिलाएर उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्नु सबैको साझा दायित्व भएको नाडाले जनाएको छ। नाडाले आफू सधैँ सरकारसँगै उभिने संस्था भएको उल्लेख गर्दै यस विपद्मा पनि आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्नसमेत आह्वान गरेको छ।

सरकारले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको भन्दै नाडाले सरकारको पहलको उच्च कदर गरेको जनाएको छ। विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएकाले निजी क्षेत्रलाई समेत सहयोगका लागि गरिएको आह्वानप्रति नाडाले ऐक्यबद्धता जनाएको छ।

नाडाले मुलुकको आर्थिक संरचनालाई सशक्त बनाउन तथा त्यसको निरन्तरतामा योगदान पुर्‍याउँदै देश र नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।