रसुवा बाढीका २६ घाइते टिचिङमा, उपचारका क्रममा एकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा मृत्यु भएको हो ।

अस्पतालका अनुसार बाढीमा घाइते भई उपचारका लागि ल्याइएका २६ जनामध्ये २५ वर्षीय एक पुरुषको निधन भएको हो । हाल उपचाररत घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई आईसीयूमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रबाट उपचारका लागि अझै ५० देखि ६० जनासम्म घाइते आउन सक्ने सूचना प्राप्त भएको अस्पताल स्रोतले जनाएको छ। सम्भावित बिरामीको चापलाई ध्यानमा राख्दै अस्पतालले उपचार टोली तथा आवश्यक सम्पूर्ण स्वास्थ्य सेवाहरू तयारी अवस्थामा राखेको छ।

अस्पताल प्रशासनका अनुसार आउने बिरामीहरूमा गम्भीर भन्दा सामान्य चोटपटक लागेकाहरूको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, स्थिति र आवश्यकताअनुसार थप जनशक्ति तथा स्वास्थ्य व्यवस्थापन गर्न अस्पताल तयारी अवस्थामा रहेको छ।