
काठमाडौँ । नेपाल प्रहरीले विपद् राहत सहयोगका नाममा हुन सक्ने साइबर स्क्यामबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।रसुवाको भोटेकोशी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेका बेला नागरिकबाट हुने सहयोगको दुरुपयोग हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको हो ।
संवेदनशील अवस्थाको फाइदा उठाउँदै दुषित मनसाय भएका व्यक्तिले सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमको प्रयोग गरी ठगी गर्न सक्ने भएकाले सतर्क रहन प्रहरीले अनुरोध गरेको हो ।
प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी फर्जी क्यूआर कोड बनाएर सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्याम हुन सक्छन्।
त्यस्तै, फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबरलगायतका प्लेटफर्ममा फर्जी ‘राहत कोष’ वा ‘सहयोग अभियान’का नाममा पेज तथा समूह सञ्चालन गर्ने, ‘राहत सहयोग दर्ता’को नाममा फोन गरी व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने र फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने प्रयास हुन सक्ने प्रहरीले जनाएको छ।
‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनु’ भन्दै अपरिचित नम्बरबाट मेसेज पठाएर आर्थिक सहयोग माग्ने गतिविधिप्रति समेत सचेत रहन प्रहरीले आग्रह गरेको छ।
प्रहरीले कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको बैंक खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट मात्र पुष्टि गर्न अनुरोध गरेको छ।
अपरिचित व्यक्ति वा पेजबाट आएका क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न तथा फोन वा म्यासेजमार्फत कसैले बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी मागेमा त्यस्ता विवरण उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ।
अपरिचित व्यक्तिले राहतका नाममा सहयोग मागेमा रकम पठाउनुअघि भिडियो कल वा प्रत्यक्ष फोनमार्फत अनिवार्य रूपमा पुष्टि गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।
विपद् राहतको नाममा कुनै व्यक्ति वा समूहले स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तत्काल सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।