बुद्ध एयरले भन्यो, भाडा बढाएका छैनौँ बरु उडान सङ्ख्या थपेका छौँ

दियोपोस्ट संवाददाता

काठमाडौँ । बुद्ध एयरले आफ्नो नियमित हवाई भाडामा कुनै परिवर्तन नगरेको र सरकारले तोकेको भाडादरमै उडान गरिरहेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले भाडा नबढाएको प्रस्टोक्ति दिएको हो ।

बुद्ध एयरका अनुसार उसले साबिकको भाडादरमा कुनै वृद्धि गरेको छैन । बरु यात्रुको चाप बढेको कारण बुधबार भैरहवा, भरतपुर र पोखरामा उडान सङ्ख्यासमेत थप गरेको जनाएको छ ।

बुद्धले बिहीबार समेत विभिन्न गन्तव्यहरुमा हवाई उडान सङ्ख्या थप गरेर यात्रुहरुलाई पहिलेकै मूल्यमा हवाई टिकट उपलब्ध गराइरहेको जनाएको छ ।

बुद्ध एयरले उद्धार तथा राहत कार्यमा संलग्न सरकारी तथा सम्बन्धित अन्य निकायसँग समन्वय र सहकार्य गरी यात्रुलाई हवाई सेवामार्फत सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गरिरहेको बताएको छ । त्यसका अलावा उद्धार कार्यमा खटिएका टोलीहरूको आवागमनलाई सहज बनाउन आवश्यक हवाई यात्राको समेत व्यवस्था गरेको एयरलायन्सले जनाएको छ ।
बुद्ध एयरले जारी गरेको विज्ञप्ति यस्तो छ :

हाम्रो भनाइ

सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा ‘हवाई भाडादर’सम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ । यस दुःखद घडीमा बुद्ध एयर परिवार दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै, उद्धार तथा राहत कार्यमा आवश्यक सहयोगका लागि हामी निरन्तर तत्पर रहेको जानकारी गराउन चाहन्छौँ । यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको आवागमनलाई सहज बनाउने उद्देश्यले बुद्ध एयरले हिजो भैरहवा, भरतपुर तथा पोखराका लागि साबिककै सहज तथा सुलभ भाडादरमा थप उडानहरू सञ्चालन गरेको थियो । यात्रुहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै आज पनि विभिन्न गन्तव्यमा थप उडानहरूको व्यवस्था गरिएको छ ।

बुद्ध एयरले उद्धार तथा राहत कार्यमा संलग्न सरकारी तथा सम्बन्धित अन्य निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै यात्रुलाई हवाई सेवामार्फत सहज, सुरक्षित तथा भरपर्दो सेवा प्रदान गरिरहेको छ । साथै, उद्धार कार्यमा खटिएका टोलीहरूको आवागमनलाई सहज बनाउन आवश्यक हवाई यात्रा व्यवस्थासमेत मिलाइएको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको सेवामा समर्पित रहँदै उद्धार तथा राहत प्रयासमा आफ्नो तर्फबाट सक्दो सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
बुद्ध एयर प्रा. ली.