
काठमाडौँ । चीनको तिब्बततर्फ हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवासहित विभिन्न जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दलित गैरसरकारी संस्था महासंघ (एनएनएफ)ले गहिरो दुःख व्यक्त गरेको छ ।
महासंघका राष्ट्रिय अध्यक्ष जे.बि. विश्वकर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा बाढीबाट रसुवाको स्याफ्रुबेसी, टिमुरे, शान्तिबजार र बेत्रावती तथा नुवाकोटको उत्तरगया, त्रिशूली बजार, ढुंगेबजार र देवीघाटलगायत क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ । धादिङको तल्लो गल्छी र गजुरी तथा गोरखा र चितवनका केही स्थानसमेत बाढीबाट प्रभावित भएको महासंघले जनाएको छ ।
महासंघले यो बाढी जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढ्दै जाँदा उत्पन्न गम्भीर वातावरणीय असरको परिणाम हुन सक्ने ठहर गरेको छ । हिमताल फुटेर बाढी आएको विषयलाई भने महासंघले अनुमानका रूपमा उल्लेख गरेको छ ।
विपदमा परी ज्यान गुमाएका नागरिक, सुरक्षाकर्मी तथा आन्तरिक र बाह्य पर्यटकप्रति महासंघले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै बेपत्ता भएकाहरूको तत्काल खोजी तथा सकुशल उद्धारका लागि अपिल गरेको छ ।
महासंघले मृतक तथा बेपत्ताको अविलम्ब खोजी, उद्धार, अभिलेखीकरण, राहत र पुनर्स्थापनाका लागि आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकार, अन्तर्राष्ट्रिय विकास साझेदार, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत संघसंस्था र मानव अधिकारवादी संस्थाहरूलाई आग्रह गरेको छ ।
महासंघले संघीय तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै बाढी प्रभावित तथा बेपत्ता नागरिकको खोजी, उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।