
काठमाडौँ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २८९ पुगेको छ । प्रहरीले बिहीबार दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट २८९ जनाको शव फेला परेको जनाएको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेको छ। चितवनमा १२१ जनाको शव भेटिएको छ भने पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा १२ र रसुवामा ३ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। बेपत्ता भएकाहरूको खोजीका क्रममा शव भेटिने क्रम जारी रहेको सुरक्षा निकायले जनाएको छ।
प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।