कुमारी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ३९ लाख सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि ३ करोड ३९ लाख रुपैयाँ आर्थिक तथा सामग्री सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

त्यसैगरी, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक सामग्री नेपाली सेनालाई उपलब्ध गराउने भएको छ।

बैंकका अनुसार ५ वटा एआईयुक्त निगरानी ड्रोन, ५ केभीए क्षमताका ३ वटा पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।

हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाहरू प्रभावित भएका छन् । प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै उक्त सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।