
काठमाडौँ । बाढी तथा डुबान प्रभावित नागरिकका लागि राहत रकम पठाउन डिजिटल कारोबारको सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा डिजिटल माध्यमबाट रकम पठाउँदा दैनिक तथा मासिक कारोबार सीमामा सहजीकरण गर्ने व्यवस्था गरेको हो।
बैंकको भुक्तानी प्रणाली विभागले बुधबार सूचना जारी गर्दै मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट तथा ई-कमर्सलगायत डिजिटल माध्यमबाट राहत रकम पठाउने व्यवस्थालाई सहज बनाइएको जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका आधिकारिक खातामा रकम जम्मा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेका आधिकारिक खातामा सहयोग रकम जम्मा गर्न सकिनेछ।
देशका विभिन्न स्थानमा बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा व्यवस्थापनका लागि सरकारले दुवै कोषमार्फत आर्थिक सहयोग परिचालन गरिरहेको अवस्थामा डिजिटल माध्यमबाट सहयोग रकम पठाउन सहज बनाइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशनमा तोकिएको दैनिक तथा मासिक कारोबार सीमासम्बन्धी व्यवस्थाका कारण राहत रकम पठाउन समस्या नहोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरेको छ।