थुनिएको ताल बढ्दै, भोटेकोशीमा बाढीको जोखिम टरेन

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा पुनः बाढीको जोखिम कायम रहेको जनाएको छ।

महाशाखाले बिहीबार भोटेकोशी नदीमा सम्भावित बाढी जोखिमसम्बन्धी विशेष सूचना जारी गर्दै चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाका आधारमा नदीमा पुनः बाढीको जोखिम रहेको जनाएको हो।

पछिल्लो सूचना तथा भू(उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ। उक्त तालको पानीको सतह बढिरहेको र ताल फुट्ने जोखिमसमेत देखिएको महाशाखाले जनाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ।