रसुवामा बाढी: ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल पूर्ण रूपमा ध्वस्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको सडक तथा पुल संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण जिल्लामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। त्यस्तै बाढीले सडकसँगै ४१ वटा पुलसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

मन्त्रालयका अनुसार वेत्रावती-मैलुङ हुँदै स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडक बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । सडक क्षतिग्रस्त भएपछि रसुवाको उत्तरी क्षेत्रसँगको सडक सम्पर्क प्रभावित भएको छ।

त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक बन्द अवस्थामा छ। पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडकमा लेदो थुप्रिएपछि यातायात अवरुद्ध भएको छ। अहिले लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ।

क्षतिग्रस्त भएको सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज उपलब्ध गराएको छ। आवश्यकताका आधारमा स्थान पहिचान गरी बेलिब्रिज जडानको तयारी भइरहेको छ।

यसैगरी, भारत र चीन सरकारले पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उपलब्ध बेलिब्रिजलाई प्राथमिकताका आधारमा क्षतिग्रस्त स्थानमा जडान गरी सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र त्यसपछि रसुवालाई सडक सञ्जालसँग जोड्ने रणनीतिअनुसार काम अघि बढाएको छ।  वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयको भनाइ छ।

सडक खुलाउने कामलाई तीव्रता दिन सरकारीतर्फबाट उपलब्ध गराइएका १० र निजी क्षेत्रबाट उपलब्ध १० गरी २० वटा उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।