
काठमाडौँ । गोसाइकुण्ड दर्शन तथा भ्रमण गरी फर्किने सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइकुण्ड दर्शन तथा भ्रमण गरी काठमाडौँ फर्किने सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
मन्त्रालयले सुरक्षित यात्राका लागि धुन्चेतर्फको नियमित पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको हो। अर्को सूचना जारी नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार गोसाइकुण्डबाट सूर्यकुण्ड पा-फेदी-घोप्टेभीररम्युजियम-टालु-सिस्पु-घ्याङफेदी-समुन्द्रटार-चौघडा-थानसिङ हुँदै काठमाडौँ फर्किन सकिनेछ । दुप्चेश्वरबाट समेत यही मार्ग हुँदै काठमाडौँ जोडिन सकिने जनाइएको छ।
नियमित रूपमा प्रयोग हुँदै आएको धुन्चे-कालिकास्थान-नुवाकोटरविदुर हुँदै काठमाडौँ जाने मार्ग भने अर्को सूचना जारी नभएसम्म प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक मार्गसम्बन्धी सूचना सबै तीर्थयात्री तथा पर्यटकसम्म पुर्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
आपत्कालीन अवस्थामा १००, १११४ वा १०२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै तीर्थयात्री तथा पर्यटकलाई सूचनाको पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।