बीमा ऐन, २०७९ को कसूरमा हिमालयन रिइन्स्योरेन्सका सीईओ उपसना पौडेल पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं — बीमा ऐन, २०७९ विपरीतको कसूरमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिमालयन रिइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपसना पौडेललाई पक्राउ गरेको छ।

नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरको पत्रद्वारा ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रा.लि. मा गरिएको निरीक्षण प्रतिवेदन अनुसार बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा अनुसन्धान गर्न ३९ वर्षीया पौडेललाई पक्राउ गरिएको हो।

सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई उनलाई मिति २०८३ भाद्र ११ गते काठमाडौँको बबरमहलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा. द्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। पक्राउ परेकी पौडेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।