
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी र त्यसबाट प्रभावित विभिन्न जिल्लामा ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै ९७७ जना बेपत्ता छन् ।
मन्त्रालयका अनुसार फेला परेका ४६९ शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ। गोरखामा फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत समावेश छन् ।
विपद्का कारण ७३ जना घाइते भएका छन् । तीमध्ये रसुवामा मात्रै ४३ जना घाइते भएको मन्त्रालयले जनाएको छ । हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको छ ।
बेपत्ता हुने ९७७ जनामध्ये विदेशी नागरिकको संख्या सबैभन्दा धेरै छ । मन्त्रालयका अनुसार ५१७ विदेशी नागरिक अझै सम्पर्कविहीन छन् । त्यस्तै, नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ नेपालीसमेत बेपत्ता छन् ।
बेपत्ता हुनेमा सुरक्षाकर्मी पनि छन् । नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै, रसुवाका १६१ र मकवानपुरका ६६ स्थानीय तथा भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार कर्मचारी पनि बेपत्ता छन् ।
विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर ९ हजार ४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ४ हजार २४३, नेपाल प्रहरीका ३ हजार ३१८ र सशस्त्र प्रहरी बलका १ हजार ८४४ जना रहेका छन् ।
उद्धार कार्यका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।