
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो ।
अष्ट्रेलियाली सरकारका अनुसार बाढीका कारण कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ । बेपत्ता नागरिकको अवस्था यकिन गर्न तथा प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ ।
अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले प्रभावित आफ्ना नागरिकलाई सहयोग गर्न थप कर्मचारी परिचालन गरेको छ। नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकारीलाई काठमाडौँमा परिचालन गरिएको छ । थप क्षेत्रीय तथा संकट प्रतिकार्य टोलीका कर्मचारीसमेत परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।
अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाउने जनाएको छ। उक्त टोलीले काठमाडौंमा रहेका अष्ट्रेलियाली कर्मचारीसँग समन्वय गर्दै मानवीय अवस्थाको मूल्यांकन, व्यवस्थापन, सञ्चार तथा राहत योजनामा सहयोग गर्नेछ।
‘अष्ट्रेलिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत परिचालन हुने टोलीमा मानवीय सहायता तथा विपद् व्यवस्थापनसम्बन्धी विशेषज्ञहरू रहनेछन् । अष्ट्रेलियाले घोषणा गरेको ५० लाख अष्ट्रेलियन डलरको सहायता स्थापित साझेदार संस्थामार्फत खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाका लागि खर्च गरिने जनाएको छ ।
सहायतामध्ये २० लाख अष्ट्रेलियन डलर विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) लाई उपलब्ध गराइनेछ। डब्ल्युएफपीले नेपालमा आपत्कालीन राहतका लागि खाद्यान्न तथा लजिस्टिक सहयोग सुरु गरिसकेको अष्ट्रेलियाले जनाएको छ ।
त्यस्तै, २० लाख डलर अष्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत अष्ट्रेलियाली गैरसरकारी संस्थालाई उपलब्ध गराइनेछ । उक्त रकमबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग प्रदान गरिनेछ।
बाँकी १० लाख डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत स्थानीय नेतृत्वमा सञ्चालन हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा खर्च गरिनेछ ।
बाढीका कारण सडक तथा पुलहरूमा क्षति पुगेपछि धेरै समुदाय अझै बाहिरी सम्पर्कबाट विच्छेद रहेको र प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको अष्ट्रेलियाले जनाएको छ । यस्तो अवस्थामा प्रभावित समुदायका लागि तत्काल मानवीय सहायता आवश्यक रहेको उसको भनाइ छ ।