भोटेकोशी बाढीपीडितका लागि एनआईसी एसिया बैंकको २ करोड २१ लाख सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीहरूबाट संकलन भएको २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा सहयोग गरेको हो।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई बिहीबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

गत बुधबार बिहान भोटेकोशी नदीमा आकस्मिक रूपमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति पुगेको थियो । बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

बैंकले बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, बाढीमा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।

बैंकले सम्पर्कविहीन रहेका नागरिकहरूको सकुशल तथा शीघ्र उद्धारको कामना गर्नुका साथै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाएको छ ।