रसुवा बाढीमा बेपत्ताका शव भारतमा भेटिन थाले, सात जनाको शव बरामद

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवा जिल्लामा आएको भीषण बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको शव भारतीय क्षेत्रमा समेत फेला पर्न थालेको छ। भारतको उत्तर प्रदेशस्थित महराजगञ्ज र कुशीनगर जिल्लामा गण्डक (नारायणी) नदीबाट सात जनाको शव बरामद भएको बीबीसी हिन्दीले जनाएको छ।

महराजगञ्जमा चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको हो । बरामद शवमध्ये पाँच महिला र दुई पुरुष रहेका छन्।

नेपालमा आएको भीषण बाढीका क्रममा नदीमा बगेका शव तीव्र बहावसँगै भारततर्फ पुगेको हुन सक्ने आशंका गरिएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेपछि मोटरबोटको सहायताले नदीबाट बाहिर निकालेको थियो ।

बरामद गरिएका शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको छ । अहिलेसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन।

निचलौल तहसीलका उपजिल्लाधिकारी सिद्धार्थ गुप्ताले बीबीसी हिन्दीसँग कुरा गर्दै बिहीबार दिउँसो गण्डक नदीबाट चार शव बरामद गरिएको बताए। उनका अनुसार तीमध्ये तीन महिला र एक पुरुष रहेका छन् ।

उनले ती शव माथिल्लो तटीय क्षेत्र अर्थात् नेपालबाट बगेर आएको हुन सक्ने सम्भावना रहेको बताए । शवको पहिचानका लागि नेपाल प्रशासनसँग निरन्तर सम्पर्क भइरहेको उनको भनाइ छ।

नदी किनारमा एसडीआरएफ, आरआरटी र एसएसबीका टोलीले निरन्तर निगरानी गरिरहेको बताइएको छ ।

यस्तै, कुशीनगरका अपर प्रहरी उपरीक्षक सिद्धार्थ वर्माले कुशीनगरमा तीन शव बरामद भएको बताएका छन् । तीमध्ये दुई महिला र एक पुरुष रहेका छन् ।

एसएसबी, महराजगञ्ज र कुशीनगर जिल्ला प्रशासनले मृतकहरूको पहिचान तथा उनीहरूका परिवारको खोजीका लागि नेपालका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।