चीनमा पुनः ताल फुटेको आशंका, सतर्क रहन रसुवाका सिडिओको अनुरोध

दियोपोस्ट संवाददाता

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठुलो ताल फुटेको बताइएको छ । तिब्बतको केरुङ क्षेत्रमा गएको ठुलो पहिरोपछि प्राकृतिक ताल बनेको थियो ।

विनाशकारी पहिरोपछि बनेको ताल फुटेपछि अहिले तिब्बतको पनि उद्धार कार्य स्थगित गरिएको छ । उक्त ताल फुटेपछि आउन सक्ने बाढीका कारण अहिले नेपालमा पनि सतर्कता अपनाउन भनिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेकाे सूचना आएकाले नेपालतर्फ पनि सतर्क रहन भनिएको छ ।

रसुवाको उत्तरगयाँमा रहेको जलविद्युत्को टनेलमा फसेका व्यक्तिहरूको उद्धार र उपचारका लागि सदरमुकाम धुन्चेबाट उद्धारकर्मीको टोली घटनास्थलमा जाने तयारीमा रहेका थिए ।

तर चीनतर्फको ताल फुटेको सूचना आए लगत्तै तत्कालका लागि उद्धार कार्यसमेत स्थगित गरिएको छ ।