चीनतर्फ पहिरोले बनेको ठुलो ताल फुट्यो, पहिलेभन्दा ठुलो बाढीको चेतावनी

दियोपोस्ट संवाददाता

काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा विशाल पहिरोपछि बनेको प्राकृतिक ताल फुटेको छ । तिब्बतको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक आएको पहिरोका कारण बनेको ठुलो ताल फुटेको चिनियाँ पक्षले जानकारी दिएको छ ।

ताल फुटेसँगै अहिले रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

प्रारम्भिक अनुमानमा बाढी पहिलेको भन्दा पनि ठुलो हुन सक्ने भन्दै ती क्षेत्रका उद्धार कार्य तत्काल स्थगित गरिएको छ । अहिले रसुवाको टिमुरे, नुवाकोटको त्रिशूली, बेत्रावती, देवघाट लगायतको स्थानको उद्धार कार्य समेत स्थगित गरी उद्धारकर्ताहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएपछि नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

छोचेन खोला र पुरेपु त्साङ्पो नदी भोटेकोशी र त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदीका रूपमा रहेका छन् । तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भएर बग्ने यी नदी नेपाल प्रवेश गरेपछि भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिन्छ । पुरेपु र छोचेन खोला रसुवागढी आसपासबाट नेपाल प्रवेश गर्दछ ।

पहिरोका कारण बनेको उक्त तालमा बिहीबार बिहानसम्मको अपडेटमा करिब २० लाख घन मिटर पानी जम्मा भएको चिनियाँ पक्षले जनाएको थियो । चीनको जलस्रोत मन्त्रालयले आइतबार बिहानसम्ममा थप करिब ३० लाख घन मिटर पानी जम्मा हुन सक्ने र कुल ५० लाख घन मिटर भएको ताल बन्ने चेतावनी दिएको थियो । सम्भावित बाँध फुट्ने जोखिमलाई ध्यानमा राख्दै चिनियाँ पक्षले उक्त क्षेत्रको उद्धार कार्यसमेत स्थगित गरिसकेको थियो ।

ताल फुट्ने चेतावनीकै बिच शुक्रबार बिहान साँढे ११ बजे ताल फुटेको जानकारी आएको हो ।

अहिले ताल फुटेपछि आउने बाढी पहिलेको भन्दा पनि ठुलो हुने र यसले थप जनधनको क्षति पुराउन सक्ने भन्दै सतर्क रहन निर्देशन दिइएको छ । अहिले भोटेकोशी, त्रिशूली लगायतका नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँदै खाली गर्न भनिएको छ ।