
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको हो ।
काठमाडौँतर्फ नागढुंगा-मुग्लिन सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको प्रहरीले जनाएको छ । यस्तै, कोशी प्रदेशको इलाममा पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलाम-झापा जोड्ने सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेशमा पनि बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित भएका छन् । काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी सडकखण्डमा बाढीको जोखिमका कारण निश्चित समयका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरमा हेटौंडा-भीमफेदी-बागमती-ललितपुर सडक तथा कान्तिलोकपथ क्षेत्रमा रातिको समयमा सवारी आवागमन रोकिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका-८ घट्टेखोलास्थित टोखा-छहरे सडकखण्डमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।
रसुवामा उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण लामो समयदेखि पूर्णरूपमा अवरुद्ध छ । जिल्लाको मुख्य राजमार्गसमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको प्रहरीले जनाएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० ज्वाङखोलालगायत क्षेत्रमा पृथ्वी राजमार्ग प्रभावित भएको छ । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिममा आठबिसकोट नगरपालिका-६ स्थित जाजरकोट-डोल्पा सडकखण्ड बाढीका कारण पूर्णरूपमा बन्द भएको छ ।
प्रहरीले निरन्तर वर्षाका कारण जुनसुकै बेला सडकमा बाढी तथा पहिरो आउन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन तथा आवश्यक नभएसम्म जोखिमपूर्ण सडकमा यात्रा नगर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।
