भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ अझै बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मृत्यु हुनेको संख्या ५ सय ३८ पुगेको जनाएको हो ।

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा २ सय २१ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ ।

त्यस्तै तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । विपद्मा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन् ।

बाढीपछि अझै ९ सय ७७ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिकको संख्या उल्लेख्य छ। प्राधिकरणका अनुसार ५ सय १७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका तथा विदेशमा बस्ने १ सय २७ जना नेपाली सम्पर्कविहीन छन् ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवाका १ सय ६१, मकवानपुरका ६६ र नुवाकोटका एक जना बेपत्ता छन् ।

विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारीको अवस्था अझै अज्ञात छ ।

बेपत्ताको खोजी तथा प्रभावितको उद्धारका लागि १४ हजार ८ सय २९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। यसमध्ये नेपाली सेनाका ६ हजार ६ सय ९८, नेपाल प्रहरीका ४ हजार ४ सय ७३ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना खटिएका छन् ।

हालसम्म २५ जना विदेशी नागरिकसहित ३ हजार ७ सय ४२ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरबाट ७८ वटा हवाई उडान सञ्चालन भएका छन् ।

 

सम्बन्धित खबर

सिफारिस