
चितवन । रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका शव तथा मानव अवशेषहरू देवघाटको खुला स्थानमा जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
चितवनबाट संकलन गरिएका कुल २३३ शवमध्ये हालसम्म चार वटाको मात्र पहिचान भएको छ भने बाँकी २२९ शव तथा अवशेषको पहिचान हुन सकेको छैन।
पहिचान हुन नसकेका शव तथा अवशेषहरू तीव्र रूपमा सड्दै र गल्दै गएकाले दुर्गन्ध फैलिनुका साथै सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
सोही जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रन नदिन तथा दुर्गन्ध नियन्त्रण गर्न चितवन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।
समितिको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूको व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
शव व्यवस्थापनअघि आवश्यक डीएनए नमुना सुरक्षित राखिने जनाइएको छ। भविष्यमा शवको पहिचान हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै डीएनए नमुना संरक्षण गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा यस बाध्यात्मक निर्णयबाट पीडित परिवारलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै शोकको घडीमा सबै पक्षबाट सहयोग, समन्वय तथा जिम्मेवार र सकारात्मक सूचना सम्प्रेषणको अपेक्षा गरिएको छ।