
काठमाडौँ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई थप तीव्र बनाएको छ।
उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ । सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको जनाएको छ।
सुरुङभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको हो। टोलीले लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्य अघि बढाइरहेको छ।
सुरुङको मुख खोतल्ने तथा खोजी कार्यलाई द्रुत गति दिन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।
उक्त क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको बताइएको छ।
यसैबीच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन ९रेकी० गरी आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।