
काठमाडौँ । यस हप्ताको सुरुमा आएको विनाशकारी बाढीपछि चीन-नेपाल सीमा नजिकै हिमनदी फुटेर बनेको तालको जोखिम केही कम हुँदै गएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
बिहीबार बिहान लिइएका स्याटेलाइट तस्बिरअनुसार चीन-नेपाल सीमामा दुई नदीको संगमस्थल नजिक बनेको तालबाट पानी बिस्तारै बाहिर बगिरहेको छ। यससँगै तालको आकार पनि क्रमशः घट्दै गएको चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ।
चीनको जलस्रोत मन्त्रालयका अनुसार पुरेपु त्साङपो नदीमा बनेको उक्त तालको सतह क्षेत्रफल अहिले करिब ९९ हजार वर्ग मिटर रहेको छ। यो करिब १४ वटा फुटबल मैदान बराबर हो। बिहीबारको तुलनामा तालको क्षेत्रफल २१ हजार वर्ग मिटरले घटेको मन्त्रालयले जनाएको छ।
तर, विज्ञ र अधिकारीहरूले भने जोखिम पूर्ण रूपमा टरिनसकेको बताएका छन्। हिमनदी र पहिरोको भग्नावशेषका कारण बनेको तालबाट फेरि ठूलो मात्रामा पानी बग्न सक्ने सम्भावना रहेकाले उपत्यकामा दोस्रो प्रकोपको जोखिम अझै कायम रहेको उनीहरूको भनाइ छ।
तालको अवस्थाबारे निरन्तर निगरानी गर्न सरकारी स्वामित्वको इन्जिनियरिङ तथा उद्धार संस्था चाइना एनेङले शुक्रबार १५ सदस्यीय टोली खटाएको छ। टोलीले टोही ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेशन र मोबाइल निगरानी क्यामेराको प्रयोग गरी तालको अवस्था र सम्भावित जोखिमबारे जानकारी संकलन गरिरहेको छ।