भाेटेकाेशी बाढी : विश्वकै प्रतिष्ठित सफ्टवेयर कम्पनी इन्फोसिसका सीईओ लक्ष्मिनाथ गोपिसेट्टी बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपालमा आएको भीषण बाढी र पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेका बेला बहुराष्ट्रिय प्राविधिक कम्पनी इन्फोसिस (Infosys) का एक उच्च अधिकारी पनि बेपत्ता भएका छन्। इन्फोसिस पब्लिक सर्भिसेजका प्रमुख (CEO) लक्ष्मिनाथ  ‘लक्ष’ गोपिसेट्टी नेपालमा आएको बाढीपछि सम्पर्कविहीन बनेका हुन्।

शुक्रवार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले गोपिसेट्टी व्यक्तिगत भ्रमणका क्रममा नेपाल गएको र त्यसयता उनीसँगको सम्पर्क टुटेको जनाएको छ। कम्पनीले उनको खोजीका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको र परिवारलाई हरसम्भव सहयोग प्रदान गरिरहेको स्पष्ट पारेको छ। इन्फोसिसले नेपालको यस प्राकृतिक विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावितहरूप्रति समवेदना प्रकट गरेको छ।

नेपालमा हालै आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी हालसम्म ५८४ जनाको ज्यान गइसकेको छ भने २,४८२ जना मानिसहरू बेपत्ता छन्। सोही बेपत्ता सूचीमा इन्फोसिसका सीईओ गोपिसेट्टी पनि परेका छन्।

यसैबीच, भारतीय विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार, नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीका कारण कम्तीमा ३२० भारतीय नागरिकहरू अझै बेपत्ता छन्। त्यस्तै, तिब्बत क्षेत्रमा करिब ४०० जना भारतीयहरू फसेका छन्, जसलाई सकुशल उद्धार गर्ने प्रयास तीव्र पारिएको छ। भारतीय विदेश मन्त्रालयले यस सङ्कटको घडीमा नेपाललाई हरसम्भव सहायता प्रदान गर्न भारत तयार रहेको जनाएको छ। मन्त्रालयका अनुसार चीनतर्फ फसेका १५३ भारतीय नागरिक भने सकुशल नेपाल आइपुगेका छन्।

को हुन् लक्ष गोपिसेट्टी ?

इन्फोसिसको वेबसाइटमा उल्लेख भए अनुसार, लक्ष गोपिसेट्टीले सार्वजनिक क्षेत्रका संस्थाहरूलाई रणनीति, प्रविधि, सञ्चालन र डिजिटल रूपान्तरणका विषयमा परामर्श दिँदै आएका छन्। संस्थागत उद्देश्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनी कम्पनीको रणनीति अनुगमन गर्ने प्रमुख भूमिको जिम्मेवारीमा थिए। हालको यो जिम्मेवारी सम्हाल्नुअघि उनी इन्फोसिसमै ग्लोबल भाइस प्रेसिडेन्ट तथा बिजनेस एप्लिकेसन र डिजिटल वर्कस्पेस सर्भिसका प्रमुखको रूपमा कार्यरत थिए।

सिफारिस