भोटेकोशी बाढीः १८४ विदेशी पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रबाट हालसम्म १८४ विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखा क्षेत्रमा प्रभावित पर्यटकमध्ये १८४ जनाको उद्धार गरिएको हो ।

शनिबार दिउँसो साढे १ बजेसम्मको विवरणअनुसार थप ३ जना पर्यटक सुरक्षा निकायको सम्पर्कमा आएका छन् । यससँगै उद्धार गरिएका तथा सम्पर्कमा आएका विदेशी पर्यटकको संख्या १८७ पुगेको छ। तर, प्रभावित क्षेत्रमा रहेका ४२० जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डलेका अनुसार सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), सुरक्षा निकाय तथा स्थानीय प्रशासनको समन्वयमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको बोर्डले जनाएको छ।

उद्धार गरिएका तथा सुरक्षा निकायको सम्पर्कमा आएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतका ११४ जना रहेका छन् । चीनका २७ जना, दक्षिण कोरियाका २० जना, जर्मनी र माल्टाका ४/४ जना, इटाली र अमेरिकाका ३/३ जना तथा रुस, स्विट्जरल्याण्ड र टर्कीका २/२ जना पर्यटक सकुशल रहेका छन्।

त्यसैगरी बुल्गेरिया, ओमान र पोर्चुगलका १/१ जना पर्यटकको उद्धार गरिएको छ । स्पेनका २ जना र बेल्जियमका १ जना पर्यटक पनि सुरक्षा निकायको सम्पर्कमा आएको पर्यटन बोर्डले जनाएको छ ।

सम्बन्धित खबर