त्रिशूली-३ ‘बी’ सुरुङ उद्धारमा चिनियाँ विज्ञ टोली खटियो

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।

नेपाल सरकारको अनुमतिमा ६ सदस्यीय चिनियाँ प्राविधिक टोली उद्धार स्थलमा पुगेको हो। अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको सरकारले जनाएको छ।

चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्थाबारे प्राविधिक अनुगमन गर्नेछ।

साथै टोलीले सुरुङभित्रको वस्तुस्थिति, जोखिम तथा उद्धारको सम्भाव्यताबारे प्रारम्भिक ‘रेकी’ गर्नेछ । प्रारम्भिक अनुगमनपछि उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विशेषज्ञलाई समेत तत्काल घटनास्थलमा बोलाउने तयारी छ।

बाढीका कारण सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गरी निरन्तर प्रयास गरिरहेको छ। चुनौतीपूर्ण अवस्थामा रहेको उद्धार कार्यमा नेपाली सेना र चिनियाँ विज्ञ टोलीले संयुक्त रूपमा काम गर्नेछन्।

फसेका श्रमिकलाई सकुशल बाहिर निकाल्न उपलब्ध सबै प्राविधिक तथा मानवीय स्रोत परिचालन गरी उद्धार प्रयास जारी राखिएको छ।