
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीले हालसम्म ७ हजार ८९४ जना प्रहरी कर्मचारी परिचालन गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा उपचार, राहत वितरण, मानवीय र भौतिक क्षतिको मूल्याङ्कन, शव संकलन तथा व्यवस्थापन र अन्य सुरक्षा निकायसँग समन्वय गर्न विभिन्न टोली परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ । ती टोलीहरू प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा परिचालित छन् ।
प्रहरी नायव महानिरीक्षक सुदर्शन कोइरालाको कमाण्डमा नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित ‘विपद् प्रतिकार्य समन्वय केन्द्र’मार्फत विपद् व्यवस्थापन, उद्धार तथा खोजी, राहत वितरण र शव संकलन एवं व्यवस्थापनलगायतका कार्यको समन्वय भइरहेको छ ।
त्यस्तै, प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाको कमाण्डमा शिक्षण अस्पताल महाराजगञ्जमा स्थापित कमाण्ड पोस्टमार्फत विभिन्न अस्पतालसँग समन्वय गरी घाइतेको उद्धार, उपचार तथा शव व्यवस्थापनको काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक फोटोग्राफी उपकरण, ड्रोन क्यामेरा र सञ्चार साधनसहित प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा थप टोली परिचालन गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले विपद्का बेला नागरिकको जीउधनको सुरक्षा गर्नु प्रहरीको प्रमुख दायित्व रहेको बताएका छन् ।
उनका अनुसार उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै नागरिकको जीउधनलाई प्राथमिकतामा राखेर उद्धार तथा खोजी कार्य भइरहेको छ । स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरी प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई आवश्यक मेडिकल सहायता उपलब्ध गराउन नेपाल प्रहरी अस्पतालबाट मेडिकल टोलीसमेत परिचालन गरिएको छ । उद्धार तथा खोजीका लागि ड्रोन र खोजी कुकुरसहितका टोलीलाई विभिन्न स्थानमा छुट्टाछुट्टै परिचालन गरिएको प्रहरीले जनाएको छ । कानुनी सहायता तथा घटनास्थलको मुचुल्का तयार गर्नसमेत छुट्टै टोली परिचालन गरिएको छ ।
काठमाडौं, नुवाकोट र धादिङका विभिन्न स्थानमा २२ वटा होल्डिङ सेन्टर स्थापना गरी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते तथा अन्य व्यक्तिको व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित गरिएको छ ।
यसैगरी, शव संकलन, पहिचान तथा व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ । शवको फोटो तथा भिडियोसहित अभिलेखीकरण गर्नुका साथै आवश्यक फरेन्सिक नमुना संकलनका लागि फरेन्सिक विशेषज्ञसँग समन्वय गरी प्रहरीको विशेष टोली खटाइएको छ ।
पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनका लागि ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ ९पहिलो संशोधन, २०८३०’ बमोजिम स्थानीय तहसँग समन्वय गरी काम भइरहेको प्रहरीले जनाएको छ । फेला परेका शवको सनाखतमा सहजता होस् भनेर तस्बिरसहितको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।