भोटेकोशी बाढीमा मृतकको संख्या ७८८ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म विभिन्न जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो ।

प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नुवाकोटमा ५२, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना रहेका छन् ।

त्यस्तै, रसुवामा ५६२, नुवाकोटमा ११५, विभिन्न जलविद्युत आयोजनामा कार्यरत ९३३, मकवानपुरमा ६५, विदेशी नागरिक ५९, विदेशी पर्यटकसँग घुम्न गएका १२७, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ तथा क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ । उद्धार तथा खोजी कार्यलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।