
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । विभिन्न संघसंस्था र स्थानीय तहको सहकार्यमा प्रभावितलाई सुरक्षित स्थानमा राख्न होल्डिङ सेन्टर सञ्चालन गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार ती आश्रयस्थल तथा राहत केन्द्रबाट तीन हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्। त्यसमध्ये नुवाकोटमा मात्रै १६ वटा आश्रयस्थलमा दुई हजार २७४ जनालाई व्यवस्थापन गरिएको छ।
नुवाकोटको विदुर नगरपालिका-क्षेत्रमा प्रभावितलाई विभिन्न स्थानमा विभाजन गरी राखिएको छ। तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशूली–ढुंगे तथा सिमचौर क्षेत्रका प्रभावितलाई सेफहाउस र किरियापुत्री भवनमा राखिएको छ। बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाट क्षेत्रका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा व्यवस्थापन गरिएको छ।
त्यस्तै, बेत्रावती-भैँसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी माध्यमिक विद्यालयमा राखिएको छ भने त्रिशूली बजार क्षेत्रका प्रभावितका लागि कोलनी कभर्ड हल, भैरुम माध्यमिक विद्यालय, रिमालडाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको छ।
विदुर नगरपालिका-३ देवीघाट-सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर-९ का प्रभावितलाई त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ।
यसैगरी, बेलकोटगढी नगरपालिका-क्षेत्रको रातमाटे-जिलिङका प्रभावितलाई महादेव माध्यमिक विद्यालय, किस्पाङ गाउँपालिका-५ का प्रभावितलाई कार्की मनकामना आधारभूत विद्यालय र त्रिभुवन माध्यमिक विद्यालय तथा रसुवाबाट उद्धार गरिएका केही प्रभावितलाई बट्टारस्थित तामाङ प्लाजामा राखिएको छ।
बाढीमा घाइते भएकाहरूलाई समेत विभिन्न आश्रयस्थलमा उपचारसहित राखिएको छ। विदुर-२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर-९ को शुलक्षणा माध्यमिक विद्यालयमा घाइतेको उपचार तथा व्यवस्थापन भइरहेको छ।
उता, रसुवामा बाढी प्रभावितका लागि १० वटा अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ती आश्रयस्थलमा एक हजार १८० जना रहेका छन्।
रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँ तथा आमाछोदिङ्मो गाउँपालिका-१ र २ अन्तर्गत हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालन गरिएको छ।
त्यसैगरी, गोसाइँकुण्ड गाउँपालिका-१, २, ३ र ५ अन्तर्गत थुमन, दालफेदी, खैदी, वृद्धिम, लिङलिङ र स्याफ्रुबेँसीमा पनि अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।