भोटेकोशी बाढीमा भेटिएका २५४ शव जमिनमुनि सुरक्षित व्यवस्थापन गरिँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये तत्काल सनाखत हुन नसकेका शवलाई वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ । भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित राखेर कानुनी तथा वैज्ञानिक प्रक्रियाअनुसार व्यवस्थापन गर्न लागिएको हो ।

कतिपय शव क्षतविक्षत अवस्थामा रहेका तथा केही कुहिन थालेका कारण अस्पताल र अस्थायी शवगृहमा लामो समयसम्म राख्न कठिन भएपछि यस्तो प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ । ठूलो संख्यामा शव फेला परेकाले शवगृहमा राखिरहनु थप असुरक्षित हुने अवस्था देखिएपछि कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यवस्थापन थालिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले शव व्यवस्थापन गर्नुको अर्थ तत्काल अन्तिम संस्कार गर्नु नभएको स्पष्ट पारेका छन् । उनका अनुसार प्रत्येक शवको तस्बिर, हुलिया, शरीरमा रहेका विशेष चिह्न, फरेन्सिक विवरण र डीएनए नमुना सुरक्षित राखेर मात्रै जमिनमुनि व्यवस्थापन गरिँदैछ ।

शव फेला परेको स्थान, शवको अवस्था र छुट्टै कोड नम्बरसमेत अभिलेखमा राखिने भएकाले भविष्यमा आफन्तले दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत सनाखत गर्न सकिने काफ्लेले बताए। डीएनए परीक्षणबाट पहिचान खुलेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाउन सकिने उनको भनाइ छ ।

पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ को व्यवस्था तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा यस्तो प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यस्तै, अन्य विकसित मुलुकमा पनि पहिचान हुन नसकेका शवलाई वैज्ञानिक प्रमाण सुरक्षित राखेर व्यवस्थापन गर्ने अभ्यास रहेको जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार बाढीले ल्याएका धेरै शव क्षतविक्षत र कुहिएको अवस्थामा रहेकाले पहिचान गर्न कठिन भइरहेको छ । लामो समयसम्म सबै शवलाई शीतभण्डारणमा राख्न पनि सम्भव नहुने भएकाले वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गर्नु उचित हुने उनले बताए ।

उनका अनुसार शिक्षण अस्पतालको शवगृहमा सामान्य अवस्थामा करिब १५० शव राख्न सकिन्छ । क्षमताभन्दा धेरै शव राख्दा स्वास्थ्य तथा सुरक्षाको जोखिम बढ्ने भएकाले वैकल्पिक व्यवस्थापन आवश्यक हुने उनले बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले त्रिशूली र नारायणी नदी किनारमा बाढीले बगाएर ल्याएका शवलाई नेपालकै कानुन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गरिएको बताए। शव व्यवस्थापनबारे विभिन्न टीकाटिप्पणी भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै उनले शवको दाहसंस्कार वा अन्तिम संस्कार नगरिएको स्पष्ट पारे ।

उनका अनुसार शवलाई माटोमुनि सुरक्षित रूपमा राखिएको मात्रै हो । भविष्यमा डीएनए मिल्ने परिवार आएमा वैज्ञानिक परीक्षणबाट पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर शव आफन्तलाई उपलब्ध गराइनेछ ।

चितवनमा हालसम्म २६४ शव फेला परेका छन् । तीमध्ये १० जनाको सनाखत भइसकेको छ भने बाँकी २५४ शव व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ। शनिबारदेखि सुरु भएको व्यवस्थापन कार्य आइतबार पनि जारी रहेको र सोमबारसम्म पूरा गर्ने तयारी गरिएको चितवन प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार भोटेकोशी बाढीपछि रसुवामा १३, नुवाकोटमा ५४, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ६१, तनहुँमा ३७, पूर्वी नवलपरासीमा १९७ र पश्चिम नवलपरासीमा १२० गरी विभिन्न जिल्लाबाट हालसम्म ७९४ शव फेला परेका छन् ।

सम्बन्धित खबर

सिफारिस