नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलन स्थगित, विपद् प्रभावित क्षेत्रमा खटिन नेता-कार्यकर्तालाई निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी असोज ५ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । भोटोकोशी बाढी तथा प्राकृतिक विपत्तिका कारण रसुवालगायतका जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला पार्टीले सम्मेलन स्थगित गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा सेवामा जुट्न निर्देशन दिएको हो ।

पार्टी अध्यक्ष धर्मेन्द्र बास्तोला कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिका कारण ठूलो संख्यामा जनधनको क्षति भएको उल्लेख छ । प्रभावित क्षेत्रमा आगामी दिनमा खाद्यान्न, लत्ताकपडा र औषधिको अभाव हुनसक्ने तथा उद्धार गरिएका नागरिकलाई सुरक्षित रूपमा घर फर्काउनसमेत समस्या हुनसक्ने भन्दै पार्टीका सबै समिति तथा नेता-कार्यकर्तालाई उद्धार र राहत कार्यमा सक्रिय हुन निर्देशन दिइएको छ ।

त्यसैगरी, आम नागरिकबाट राहत सामग्री संकलन गरी आधिकारिक संघसंस्था तथा सम्बन्धित निकायसँग समन्वय गरेर प्रभावित नागरिकसम्म पुऱ्याउन पहल गर्न पनि पार्टीले आग्रह गरेको छ।

काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा, मजदुर, महिला लगायतका जनवर्गीय संगठनलाई समेत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उपचार सहयोग र रक्तदान कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।

पार्टीले राष्ट्रिय सम्मेलन स्थगित गरिए पनि नयाँ मिति भने केन्द्रीय समितिको बैठकबाट उपयुक्त समय निर्धारण गरिने जनाएको छ । यसैबीच, प्रेस वक्तव्यमा बाढीले बगाएर ल्याएका शवको पहिचान हुन नसकेको भन्दै सरकारले शवलाई ‘माटोमुनि व्यवस्थापनु गरेको विषयप्रति समेत पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

सिफारिस