चिलिमे र अपर त्रिशूली-१ को टनेलमा तीन वटा शव भेटिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवामा बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा चिलिमे र अपर त्रिशूली-१ जलविद्युत् आयोजनाका टनेलमा तीन जनाको शव भेटिएको छ।

नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोपावर आयोजनाको टनेलमा दुई वटा र अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको टनेलमा एउटा शव फेला परेको हो।

विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा हिलोमाटोले पुरिएको अवस्थामा दुई शव फेला पारेको सेनाले जनाएको छ।

त्यस्तै, अपर त्रिशूली-१ आयोजनाको टनेलमा खोज तथा उद्धार टोली करिब ३०० मिटरसम्म प्रवेश गरी खोजीमा जुटेको थियो । सो क्रममा टनेलभित्र एउटा शव भेटिएको नेपाली सेनाले जनाएको छ।

बाढीका कारण टनेलभित्र फसेका तथा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

सम्बन्धित खबर