प्रधानमन्त्री रोजगार कार्यक्रम: ‘एक लाख ७६ हजारलाई रोजगारी’

दियो पोस्ट  

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अहिलेसम्म झन्डै लाख ७६ हजार व्यक्तिले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। देशभरिका सात सय ५३ वटा स्थानीय तहमध्ये झन्डै ६ छ स्थानीय तहका युवालाई २२ लाख ६२ हजार दिनको रोजगारी दिएको देखिएको मन्त्रालयले जनाएको हो।

गत आर्थिक वर्षको अन्तिममा कार्यान्वयनमा आएको उक्त कार्यक्रमको एक महिनाको तथ्याङ्क मन्त्रालयले बिहीवार सार्वजनिक गरेको हो। उक्त कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई वर्षभरी नै कम्तीमा १०० दिनको रोजगारी दिने भनिए पनि गत आर्थिक वर्षमा १ महिनाका लागि मात्रै यो कार्यक्रम लागू गरिएको थियो।

रकम बाँडफाँट

बेरोजगार व्यक्तिलाई कुनै पनि स्थानीय सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक आयोजनामा १०० दिनसम्मको काम दिएर त्यसै अनुसार पारिश्रमिक दिने व्यवस्था उक्त कार्यक्रममा गरिएको छ।

“प्रत्येक स्थानीय तहमा बेरोजगार व्यक्तिले पाएको प्रतिव्यक्ति रोजगारी दिन फरकफरक रहेको छ,” मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ। “यद्यपि सबै स्थानीय तहको तथ्याङ्कका आधारमा औसत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक व्यक्तिले औसतमा १३ दिनको रोजगारी पाएको देखिन्छ। “देशका सबै स्थानीय तहमा आयोजनाको क्षेत्र र प्रकार तोकेर सामुदायिक आयोजना सञ्चालन गर्न दुई अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुदानका रूपमा बुझाइएको थियो।

गोकर्ण विष्ट

त्यस्तो रकमलाई कुनै पनि स्थानीय तहमा पाँच लाखभन्दा कम नहुनेगरी र एक करोडभन्दा नबढ्नेगरी बजेट बाँडफाँट गरिएको मन्त्रालयले जनाएको छ। बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउने भन्दै घोषणा गरिएको उक्त कार्यक्रमअन्तर्गत गत चैत महिनाबाट सबै स्थानीय तहमा बेरोजगारहरूको निवेदन लिने काम सुरु भएको थियो।

सूचीकृत भएका बेरोजगारहरूलाई तीनवटै तहका सरकारका सार्वजनिक निर्माण र अन्य आयोजनामा अनिवार्य रूपमा काम दिनुपर्ने र निजी, सहकारी र सामुदायिक क्षेत्रले पनि त्यस्तो सूचीबाट कामदार लिन सक्ने व्यवस्था गरिएको अधिकारीहरूको भनाइ छ। नेपालको पछिल्लो आर्थिक सर्वेक्षणबमोजिम प्रत्येक वर्ष झन्डै पाँच लाख युवा कामको खोजीमा बजार प्रवेश गर्छन्।

युवा

तीमध्ये दैनिक सरदर एक हजार युवा कामका लागि विदेश जाने गर्छन्। सर्वेक्षणका अनुसार देशमा पूर्ण बेरोजगारीको दर २.३ प्रतिशत र अर्धबेरोजगारीको दर ३० प्रतिशत थियो। विशेषत: कैयौँ युवा तथा महिला कृषिमा लागेका हुनाले अर्धबेरोजगारको सङ्ख्या धेरै रहेको मानिन्छ।