यमनको सैनिक परेडमा मिसाइल र ड्रोन आक्रमण, ३२ जना सैनिकको शरीर क्षतविक्षेत

दियो पोस्ट  

काठमाडौँ, साउन १७ । यमनमा सैनिक परेडको क्रममा भएको आक्रमणमा कम्तिमा ३२ जना मारिएका छन् । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मिसाइल र ड्रोन प्रयोग गरिएको उक्त हमला हूती विद्रोहीले गरेका थिए ।

यमन सरकारको शक्ति केन्द्र अदन शहरमा नै सरकारी सैनिकमाथि आतंकवादी हमला भएको हो । हमलामा ३२ सैनिकको शरिर टुक्राटुक्रा भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले दावि गरेका छन् ।

यमन सरकारले आफुविरुद्ध लडाई गर्नका लागि सैनिक अभ्यास गराएको भन्दै हूती विद्रोहीले आक्रमण गरेको बताएको छ । तर, सरकारका अनुसार भर्खरै नयाँ बहाल गरिएका सैनिकका लागि ग्रेजुएशन सेरेमुनीको क्रममा उक्त परेड खेलाइएको थियो ।

सैनिक आक्रमण पश्चात निकै भयानक देखिएको उक्त इलाकामा विभत्स शरीरहरु यत्रतत्र छरिएका थिए । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार शवका टुक्रा जमिनमा छरिएका थिए र सैनिक रोइरहेका थिए ।

प्रत्यक्षदर्शीले भने, ‘बिस्फोट त्यो स्ट्यान्ड पछाडि भयो जहाँ आयोजना भइरहेको थियो । मैले सैनिकलाई एक शव नजिक रोइरहेको देखेँ । सायद त्यो उनको कमान्डरको शव थियो ।’

अन्तरराष्ट्रिय मेडिकल एजेन्सी एमएसफका अनुसार यो हमलामा दर्जनौं मानिस नराम्रोसँग घाइते पनि भएका छन् ।

जुन सैन्य शिविरमा हमला भयो त्यो सरकार समर्थित सुरक्षाबलसँग जोडिएको छ र त्यसलाई ‘सुरक्षा बेल्ट’ को नामले चिनिन्छ ।