काठमाडौँ । ऋण तथा बचत सहकारी र बित्तिय संस्थाको भिडमा राजधानीमा एक नयाँ बित्तिय संस्था संचालनमा आएको छ । राजधानीका मुटु इन्द्रचोकमा मुख्य कार्यालय रहेको संस्था शुक्रबार पूर्व उप–प्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझीले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई संबोधन गर्दै प्रतिनिधिसभा सदस्य रायमाझीले सहकारी संस्थाको सुरुवात हुनु आर्थिक समृद्धिका दृष्टिकोणले महत्वपूर्ण भएको बताए । उनले भने, “सहकारीको युग भनेको निरंकुश ब्यवस्थाको अन्त्य भई लोकतान्त्रिक ब्यवस्थामा प्रबेश गरेको युग हो ।” रायमाझीले देशको अर्थिक बिकासको मेरुदण्ड नै सहकारी भएको र देश बिकासको आधारशिला सहकारी भएको उल्लेख गरे ।
हजार माइलको लामो बाटो एक पाइलाबाट सुरु हुने भएकाले आर्थिक समृद्धिको पहिलो पाइला पनि सहकारी संस्था भएको उनको भनाई थियो । निरंकुश ब्यवस्थामा मानिसहरु सामुहिकतामा रमाउन नसक्ने भन्दै प्रतिनिधिसभा सदस्य रायमाझीले सामुहिकतामा रमाउन खोज्नु नै लोकतान्त्रिक पद्धति भएको उल्लेख गरे ।
उनले ब्यक्तिबादी चिन्तनबाट माथि उठेर देश निर्माणका लागि एकजुट हुन सबैलाई आग्रह गरे । उनले भने, “सहकारी चलाउनका लागि उच्च प्रकारको दृष्टिकोण र चिन्तन हुनु पछर्, सामुहिक आय आर्जन गर्ने सन्दर्भमा छरिएको पुँजी एकिकृत गरेर अगाडी बढ्ने यो महत्वपूर्ण छ ।” आर्थिक बिकासको मेरुदण्डको रुपमा सहकारीहरु स्थापना भएको भन्दै उनले संचालकलाई बधाइ तथा शुभकामना दिए ।