अमेरिकामा बन्दुकधारीको अन्धाधुन्ध गोली प्रहार, २० जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं, साउन १९ । अमेरिकाको टेक्सास राज्यको एक ‘शपिङ मल’मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।

टेक्सस राज्यको एल पासो इलाकामा रहेको सिएलो विस्ता मलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका स्थानीय अधिकारीहरुले बताएका छन् । यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ ।
घटनाको पुष्टि गर्दै टेक्सासका गभर्नर ग्रेग एबोटले टेक्सस राज्यको इतिहासमा यो अहिलेसम्मकै भयानक घटना भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान १० बजे घटना भएको प्रहरीले जनाएको छ । अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षीय व्यक्ति पक्राउ परेका छन् । ती व्यक्ति डालास क्षेत्रका बासिन्दा प्याट्रिक क्रुसियस रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद रहेको भनेका छन् ।