इजिप्टको राजधानी कायरोमा गाडीहरू ठोक्किँदा भएको एक विस्फोटमा कम्तीमा १९ जना मारिएका छन्। आइतवार राति कायरोको एक अस्पताल अगाडि भएको घटनामा अन्य ३० जना घाइते भएको बताइएको छ।

त्यो दुर्घटना वा आक्रमण के हो भन्ने बारेमा आधिकारिक भनाइ आएको छैन। अधिकारीहरूका अनुसार गलत दिशामा गुडिरहेको एउटा कारले अन्य तीन गाडीहरूलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो। घटनामा भएको आगलागीका कारण वरपरका घरहरूलाई खाली गराइएको थियो। सामाजिक सञ्जालमा आगलागी भइरहेको गाडीहरूको तस्बिरहरू देखिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नजिकैको न्याश्नल क्यान्सर अस्पतालबाट दर्जनौँ बिरामीहरूलाई अन्य अस्पतालमा सारिएको छ। मन्त्रालयले घाइतेहरू मध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताएको छ। विस्फोटले अस्पतालको भवनलाई समेत असर पारेको एक प्रत्यक्षदर्शीले रोयटर्स समाचार संस्थालाई बताएका छन्। इजिप्टले घटनाको सम्बन्धमा अनुसन्धान शुरू गरेको छ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।