पप्पु कन्सट्रक्सनको लापरबाही : तीनकुने–शान्तिनगर जोड्ने वाग्मती पुल निर्माण अलपत्र !

दियो पोस्ट  

काठमाडौँ, साउन २१ । ठेकेदारको लापरवाहीले साढे चार वर्ष पहिले विस्तारको काम शुरु भए पनि तीनकुने–शान्तिनगर जोड्ने वाग्मती पुल निर्माण अलपत्र परेको छ । निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्सनको अवधि सकिएको एक वर्ष भइसकेको छ भने सरकारले अहिलेसम्म अवधि थप्ने वा नथप्ने भनि निर्णय नगरेकाले निर्माण अन्योलमा परेको हो ।

उक्त निर्माण कम्पनीले नै निर्माण गरेको टेकु पुल भत्काएर कम्पनीलाई पुनःबनाउन दिने निर्णय भए पनि अहिलेसम्म वाग्मती पुलसम्बन्धी निर्णय भइनसकेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।

उनका अनुसार सम्झौता अवधि सकिएपछि अहिले उक्त कम्पनीले अवधि थपको माग गर्दै कागजात बुझाएको छ । अहिलेसम्म काम सन्तोषजनक नभएकाले सरकारले तत्काल अवधि थप्ने निर्णय गरिनसकेको उनले बताए ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले केही महीना पहिले मात्रै स्थलगत निरीक्षण गरेर पुल निर्माणका क्रममा भएका कमजोरी सच्चाउन निर्देशन गरेको थियो । विभागले चार वर्ष पहिले काठमाडौँ उपत्यकाका १० सडकसँगै वाग्मती पुल र धोबीखोला पुल विस्तारको काम काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामार्फत शुरु गरेको थियो ।

तीमध्ये मुआब्जा विवादका कारण सडक विस्तार सुस्त भएको र वाग्मती पुल ठेकेदारको ढिलाइका कारण अघि बढ्न नसकेको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।
विसं २०७१ पुस ४ मा पुल निर्माणको सम्झौता भएको उनको भनााई छ । ठेक्का सम्झौता अवधि साढे दुई वर्षसम्म पनि काम नसकिएपछि आयोजनाले एक वर्ष अवधि थप गरेको उहाँले जानकारी दिनुभयो । थप भएको अवधिसमेत गत वर्ष असारमा सकिएको छ ।


ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति २५ प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ । आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण भइरहेको यो पुलको ठेकेदारले नियमितरूपमा काम नगर्दा पुल निर्माणमा ढिलाइ भइरहेको आयोजनाका इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । यो पुल निर्माण शुरु हुँदा सम्बन्धित निकायले यहाँका विभिन्न संरचना हटाउन चासो नदिएको उनले बताए ।

ठेकेदार आफैँले डिजाइन गरेको यो पुलमा डिजाइनमा लामो समय लागेको श्रेष्ठले जानकारी दिए । सरकारले यसअघि बनाउँदै आएको अरु सामान्य पुलमा पहिले विज्ञलाई डिजाइन गराएर मात्रै ठेक्का आह्वान गर्ने गरेको थियो । यो पुलमा भने ठेकेदार आफैँले डिजाइन गरेको उनले बताए ।
आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त मानिन्छ ।

अरु सामान्य प्रविधि (आरसिसी) भन्दा पुल देख्दा सुन्दर देखिने र लामो आयु हुने श्रेष्ठले बताए । अरु पुलमा भारवहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ ।
डिजाइन सकिएको एक वर्ष त्यहाँ ‘साइट’ खाली गर्नमा नै लागेको श्रेष्ठले बताए । सो स्थानमा रहेका खानेपानी, ढल र विद्युत्को हाइटेनसन लाइन हटाउन नसक्दा शुरुका दिनमा काममा बाधा पुगेको उहाँले जानकारी दिनुभयो ।

निर्माणाधीन धोबीखोला र वाग्मती पुल सम्पन्न भएपछि माइतीघर–तीनकुने सडक आठ लेनको हुनेछ । पुलको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिने आयोजनाले जनाएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने खालको डिजाइन रहेको छ ।
नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलनमा ल्याउनेछ ।

यो पुलसँगै बिजुलीबजारस्थित धोवीखोला पुलको पनि एउटै मितिमा ठेक्का सम्झौता भएको थियो । यो पुलको लम्बाइ ८५ मिटर र चौडाइ १२ मिटर रहेको छ । पुल निर्माणमा हालसम्मको खर्च रु छ करोड २२ लाख ८५ हजार छ । रासस