धनुषामा प्रमुख र उपप्रमुखबीच भिडन्त, आधा दर्जन भन्दा बढी घाइते

दियोपोस्ट संवाददाता

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा प्रमुख र उपप्रमुखबीच कार्यालयलाई लिएर चलिरहेको विवादले हिंसात्मक रूप लिएको छ । बघचौडामा रहेको नगरपालिकाको साबिक कार्यालयबाट फाइल तथा सामानहरू लिन पुगेका प्रमुख रामज्ञान पक्षधर र उपप्रमुख रेणु झा पक्षधरबीच विवाद भएको हो ।

सो विवादले उग्र रूप लिएपछि लाठी चलाउनुपरेको प्रहरीले बताए । प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । मंगलबार दिउँसो प्रहरीको सहयोगमा नगरपालिकाका प्रमुख रामज्ञान मण्डल पक्षका केही व्यक्तिले उपपप्रमुख रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट जबरजस्ती कार्यालयका सामान लान खोज्दा झडप भएको हो । प्रहरीको लाठी चार्जबाट उपप्रमुख झा, वडा २ का अध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्रीलगायतका व्यक्तिहरु घाइते भएका छन् ।

घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था नाजुक रहेको छ । उनलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ । उपप्रमुख झाले प्रमुख मण्डलसँग कार्यालय विवादको समाधानका लागि पटकपटक वार्तामा बोलाए पनि उनले नमानेको आरोप लगाइन् । स्थानीयका अनुसार प्रमुख पक्षधर केही व्यक्तिले ग्रिल तोडेर सामान लुट्ने प्रयास गरेक थिए ।

सम्बन्धित खबर

सिफारिस