ग्राण्डी अस्पतालमा बच्चाको मृत्यु, मृतकका आफन्तद्वारा प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौं । उपचारका क्रममा चिकित्सकको लापरवाहीका कारण बच्चाको मृत्यु भएको भन्दै मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेका छन् ।

गोल्फुटारकी निशा तामाङका २ नावालक बच्चा मध्ये १ को उपचारका क्रममा साउन ६ गते मृत्यु भएको थियो ।

अस्पतालले इन्फेक्शनको कारणले बच्चाको मृत्यु भएको बताएको छ । तर परिवार यसलाई मान्न तयार छैन । सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाका लागि एनआइसीयूमा राखेको र डाक्टर र नर्सको लापरवाहीक्को कारण मृत्यु भएको निशाका श्रीमान् दोर्जेको आरोप छ ।

उनीहरूले बच्चाको मृत्युबारे छानविन गर्न अस्पताललाई आग्रह गरेका थिए । तर, सुनुवाइ नभएका कारण आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

आन्दोलनपछि अस्पतालसँग छलफल भएको थियो । दोर्जेका अनुसार अस्पतालले गल्ती भएको स्वीकार गर्दै चिकित्सकलाई कारवाही गर्ने बताएको छ। भोलि फेरि छलफल भएपछि के गर्ने हो टुंगो लाग्ने उनले बताए ।

‘महंगो अस्पताल भन्दैमा उपचार राम्रो हुन्न भन्ने सबैलाई जानकारी दिन आन्दोलन गरेको हुँ’ उनी भन्छन्, ‘त्यही दिन अर्को बच्चालाई अर्को अस्पताल नलगेको भए जे पनि हुन सक्ने रहेछ ।’

दोर्जेका अनुसार एउटा बच्चाको मृत्यु भएपछि उनीहरुले अर्को बच्चालाई इशान बाल अस्पताल पुर्‍याएका थिए ।

यो विषयमा बुझ्न ग्राण्डी अस्पताललाई पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

सम्बन्धित खबर

सिफारिस