भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हृदयघातका कारण निधन

दियो पोस्ट  

काठमाडौँ, साउन २२ । भारतकी पूर्व विदेशमन्त्री शुष्मा स्वराजको गएराति निधन भएको छ । मंगलबार साँझ एक्कासी हृदयघात भएपछि उनलाई अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पताल लगिएको तर निकै गम्भिर अवस्थाका कारण बचाउन नसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

उनको निधन भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका नेताहरु अस्पताल पुगेका छन् ।

उनको निधनले भारतीय राजनीतिमा निकै क्षति भएको प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत बताएका छन् । भारतको राजनीतिमा सुष्मा स्वराजले अतुलनिय योगदान गरेको स्मरण गर्दै उनको निधनले सिंगो भारतीय जनता र भाजपाले एक दयालु, निष्ठावान र कर्मठ व्यक्ति गुमाएको भन्दै प्रधानमन्त्री मोदीले शोक व्यक्त गरेका छन् ।

६७ बर्षीया सुष्मा स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको यसअघिको सरकारमा विदेशमन्त्री बनेकी थिईन । स्वराजले पहिलो चुनाव सन् १९७७ मा २५ वर्षको उमेरमा लडेकी थिइन् । हरियाणाबाट चुनाव लडेकी उनी त्यसबेला सबैभन्दा युवा विधायक बनेकी थिइन् । त्यसलगत्तै उनी मन्त्री समेत बनेकी थिइन् । त्यसपछि सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री समेत बनेकी थिइन् ।

१९९६ मा उनी दक्षिणी दिल्लीबाट उनी सांसद बनेकी थिइन् । त्यसबेला उनी तत्कालीन अटलबिहारी बाजपेयीको सरकारमा १३ दिन सञ्चारमन्त्री समेत बनेकी थिइन् । सन् २००९ र २०१४ मा लगातार भाजपाको तर्फबाट लोकसभा चुनाव जितेकी थिइन् ।

उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । स्वास्थ्यमा आएका खराबीका कारण उनले २०१९ को लोकसभा निर्वाचनमा भाग लिएकी थिइनन् ।