वीरगंजमा अवैध हुण्डिको कारोबार ह्वात्तै बढ्याे

दियो पोस्ट  

वीरगन्ज, साउन २२ । पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगन्जबाट हुण्डीको कारोबार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ।

पैसाको स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फस्टाउँदै गएपछि यस प्रकारको अवैध धन्धालाई निरुत्साहित पार्न प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको छ।

आव २०७५र७६ मा अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा अपचलन गरेको अपराधमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले १३ जनालाई प्रतिवादी बनाई ६ वटा अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा १६ अर्ब ६६ करोड ४ लाख ३७ हजार ६ सय ५९ रुपैयाँ बिगो र सजायसम्बन्धी मुद्दा दायर गरेको राजश्व कार्यालयका सूचना अधिकारी मिराज शर्माले बताए।

मुद्दा दायर गरेका अभियुक्तसँग २९ लाख ९५ हजार ९ सय ३४ रुपैयाँ धरौटी रकम माग गरेपछि अभियुक्तले सोहीअनुसारको धरौटी रकम दाखिला गरे पनि विभिन्न अदालतमा ति मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।

यसैगरी राजश्व चुहावट गर्ने ३९ जनालाई प्रतिवादी बनाई १५ मुद्दा दर्ता गरिएको छ। उनीहरुसँग १ अर्ब १६ करोड ६२ लाख ७८ हजार ७ सय ८२ रुपैयाँ बिगो दाबी गरिएको छ भने २ अर्ब ४२ करोड ४५ लाख ९० हजार ८ सय ८२ रुपैयाँ सजाय रकम माग गरेको छ। उनीहरुसँग १२ करोड ९७ लाख ३४ हजार ९ सय १९ रुपैयाँ धरौटी रकम माग गरिएकोमा ७ करोड ३४ लाख ७१ हजार ३ सय ९२ रुपैयाँ धरौटीबापतको रकम दाखिला गरेको छ।

यसैगरी सो कार्यालयले देशभरका भन्सार कार्यालयलाई पत्र लेखी अघिल्लो आवमा भन्सार छली गरी राजश्व चुहावट गर्नेसँग ४० लाख ६२ हजार ५ सय ६४ रुपैयाँ असुल गर्न तथा कर कार्यालयलाई पत्र लेखी १२ लाख ९९ हजार ७ सय १४ असुल गर्न भनेको छ। वीरगन्ज नगरक्षेत्रमा हुण्डीको कारोबार गर्ने गिरोह भित्रीरुपमा अझै सक्रिय भएकाले प्रहरीले अनुसन्धान गर्दै आएको जनाएको छ। रासस