बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन् । लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन बिहिबार बुटवल पुगेका भट्टराईले विदेशमा रहेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए यो सम्भव हुने उनले बताए ।
उनले भने, यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं ।’ मन्त्री भट्टराइले विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काम गर्न आग्रह गरे ।
‘सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ?’, उनले भने, ‘बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् ।
प्रधानमन्त्रीले आफूलाई पर्यटनमन्त्री नियुक्त गर्दा गौतमबुद्ध विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको स्मरण गर्दै भट्टराईले आउँदो डिसेम्बर अन्त्यसम्म विमानस्थल सञ्चालनमा आउने बताए । आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै उनले कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरे पनि आफूले नमानेको दाबी गरे ।
उनले निजगढ विमानस्थल २०१९ को अन्त्यसम्म शिलान्यास हुने दाबी गरेका छन् । ‘निजगढको जंगलभरि लाखौं मान्छे भरेर शिलान्यास गर्छौं’ मन्त्री भट्टराईले भने ।
सरकारले केही गरेन भन्ने चर्चा हुने गरे पनि सरकार सही दिशामा रहेको तर गति मात्र कम भएको उनले तर्क गरे । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले आउँदो चुनावसम्म पार्टी घोषणापत्रका अधिकांश प्रतिवद्धता पूरा गर्ने दाबी गरे ।