काठमाडौँ, साउन २४ । राजधानीको स्वयम्भु क्षेत्रमा लुटपाट मच्चाउँदै आएका एक लुटेरामाथि शुक्रबार प्रहरीले गोली चलाएको छ । रामेछाप लिखु गाउँपालिका स्थायी घर भइ राजधानीलगायतका क्षेत्रमा चोरी र लुटपाट मच्चाउँदै आएका मिलन तामाङलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । महानगरिय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले स्वयम्भुको विजेश्वरी हाउजिङ क्षेत्रमा उनिमाथि गोली प्रहार गरेको हो ।
नियन्त्रणमा लिन खोज्दा भागेपछि उनिमाथि प्रहरीले गोली चलाएका हुन् । प्रहरीले चलाएको गोली तामाङको घुँडामुनी लागेको छ । पक्राउ परेका लामालाई उपचारको लागि वीर अस्पतालको ट्रमा सेन्टरमा राखिएको महानगरिय प्रहरी अपराध महाशाखाले बताएको छ ।
प्रहरीका अनुसार तामाङले धनाढ्य ब्यक्तिहरुलाई फोन गर्ने र आफु विप्लवको कार्यकर्ता हुँ भन्दै पैसा माग्ने गरेको पाइएको छ । उनले हाल केन्द्रिय कारागारमा रहेका ‘लोप्साङ लामा हुँ ’ भनेर समेत थर्काउने गरेको खुलेको छ ।
पछिल्लो समय उनले आफ्नै गाउँपालिकाका अध्यक्ष लाई समेत दुई करोडको माग राखेका थिए । पैसा नदिएको खण्डमा छोरी मार्ने धम्कि दिने गरेको लिखु गाउँपालिकाका अध्यक्षले जनाकारी दिएका छन् । उपचारपछि उनिमाथि थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।