काठमाडौँ, साउन २४ । दैलेखमा नक्कली द्वन्दपीडित बनेर सरकारले प्रदान गर्ने राहत रकमको दुरुपयोग भएको पाइएको छ । जिल्लाको कालिकोटस्थित खाँडाचक्र नगरपालिका वडा नम्बर ११ का कुलबहादुर शाहीले शसस्त्र द्वन्दको समयमा एक छोरीको मृत्यु भएको र एक वेपत्ता भएको भन्दै राज्यले प्रदान गर्ने सेवा सुविधालाई दुरुपयोग गरेको भेटिएको हो ।
उनको एक छोरी किस्मिता कुमारी शाही द्वन्दकालमा मारिएकी भएपनि उनले थप एक नक्कली छोरी खडा गरि कीर्ते कागजमार्फत सरकारले दिँदै आएको राहत रकम लिने गरेको भेटिएको हो ।
कीर्ते कागज बनाएर सरकारको रकम हिनामिना गर्न सहयोग गर्ने तत्कालिन बदालकोट गाविस सचिव पदमा कार्यरत हाल दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ३ का वडा सचिव (खरिदार) गणेश प्रसाद रिजालले सहयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारका अनुसा सचिव रिजालले कीर्ते र झुटा नाता प्रमाणित प्रमाणपत्र बनाउन सहयोग गरेका हुन् । उनले राम्ररी चेकजाँच नगरीकन प्रक्रिया नपुर्याइ निवेदनको भरमा कीर्ते कागज तयार गरि अपराधीलाई सहयोग गरेको भन्दै उनिविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
सचिव रिजालले कीर्ते कागज तयार पारेपछि स्थानीय कुलबहादुर शाहीले आफ्नो नक्कली छोरीको नामबाट राहतस्वरुप १० लाख लिएको ठम्याइ गर्दै अख्तियारले दुबै जनाबिरुद्ध १० लाखकै विगो दावि गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।