काठमाडौँ, साउन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले अहिलेसम्म कसैलाई पनि एक लपेटोसम्म नहानेको बताएका छन् । शुक्रबार नेकपा नेता दीनानाथ शर्माको ‘झरीको सौन्दर्य’ निवन्धसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफुले कसैमाथि हिंसा नगरेको र अहिलेसम्म कसैको हातबाट पनि एक लपेटोसम्म नखाएको बताएका छन् ।
आफुले १० बर्षसम्मको जनयुद्धको नेतृत्व गरेको भएपनि व्यक्तिगत रुपमा कसैमाथि हिंसा नगरेको बताए । ‘हुन त १० बर्षसम्मको जनयुद्ध नेतृत्व गरेको मान्छेको मुखबाट यस्तो कुरा कसैले पत्याउँदैनन् तर, सत्य यही हो ।’ उनले भने ।
आफ्नै नेतृत्वको जनयुद्धको कारणले देशमा आमुल परिवर्तन भएको बताउँदै अध्यक्ष प्रचण्डले युद्धको सम्पुर्ण जिम्मेवारी लिन तयार भएको बताएका छन् । कार्यक्रममा उनले व्यक्तिगत रुपमा आफु निकै भावुक भएको पनि दावि गरेका छन् । ‘मलाई बाहिरी रुपमा अरुले के देख्छन थाहा छैन तर, भित्रि रुपमा म निकै भावुक छुु ।’ उनले भने ।
युवाअवस्थामा धेरै साहित्यिक पुस्तकहरु पढेकै कारण विद्रोहको चेत आएको समेत प्रचण्डले खुलाएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यकारहरु अर्धपागल हुने भएकोले नै माओवादीले विद्रोह शुरु गरेको अभिव्यक्तिको जवाफमा प्रचण्डले साहित्य पढेरै आफु विद्रोही भएको बताएका छन् ।
कार्यक्रममा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, संस्कृतिविद् सत्यमोहन जोशी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, निबन्धकार दीनानाथ शर्मालगायतले धारणा राखेका थिए।