गाउँपालिका अध्यक्षको गाडीमा आगजनी, गाडी पूर्ण रुपमा ध्वस्त

दियो पोस्ट  

कपिलवस्तु, साउन २६ । कपिलबस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । गाउँपालिकाका अध्यक्ष चौधरीको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति साढे १० बजे गाडीमा आगजनी भएको अध्यक्ष चौधरीको भनाई छ ।

आगजनी किन र कसले गर्‍यो भन्ने थाहा नभएको उनले बताए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, दाङको बंगलाचुली गाउँपालिकाको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनि गरेको हो ।

शनिबार मध्यरातमा रा १ झ १५२ नम्बरको गाडी आगजनी भएको र गाडी पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कमिरचौरले जनाएको छ ।

गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको सई शर्माले बताए ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो ।