
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनसंस्कृतिक महासंघका महासचिब खेम थपलियालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष माइला लामालाई पक्राउ गरेको दुई सातापछि शनिबार थपलियालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
दर्जनौं प्रगतिशील एवं क्रान्तिकारी पुस्तकका लेखक थपलिया प्रगतिशील लेखक संघ (प्रलेस) का निवर्तमान महासचिव समेत हुन् । उनी चर्चित नाटककार एवं पत्रकार पनि हुन् । थपलियालाई बागबजारस्थित ‘प्रगतिशील लेखक सङ्घ’ को कार्यालसँगै रहेको उनीसम्बद्ध ‘जलजला’ पत्रिकाको कार्यालयबाट पक्राउ गरिएको थियो ।
थपलियाको गिरफ्तारसंगै ‘हत्या–हिंसा र विष्फोट’ का कुनै पनि ‘वारदात’ हरुमा संलग्नताका कुनै उजुरी वा प्रमाणविना नै केवल राजनीतिक सिद्धान्तप्रति आस्था राखेकै आधारमा राजधानीबाट दिनदहाडै कलमजीवी लेखक एवं संस्कृतिकर्मीहरुलाई धमाधम पक्राउ गरिएको भन्दै आम लेखक–साहित्यकार तथा पत्रकारहरुले विरोध गरेका छन् ।
मार्क्सवादी साहित्यकारहरू डा.ऋषिराज बराल, रोशन जनकपुरी, मोदनाथ मरहट्टा र पत्रकारहरू केदारनाथ गौतम, दीपेन्द्र रावल, सूर्य बराललगायतले उनलाई विनाशर्त तत्काल रिहाइ गर्न माग गरेका छन् ।